मौसमी तथा बेमौसमी काँक्रो खेती बारे सम्पूर्ण जानकारी, जानिराखाैँ


काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो । यो कुकुरविटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ ।

काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ । मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ । यो धेरै जातका हुन्छन् । तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ । काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ ।

काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन् । पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन् । यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन् । यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ । साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ ।

काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ । यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।

प्रति रोपनी जमीनबाट काँक्रोको उत्पादन कति सम्म लिन सकिएला ?

जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा प्रति रोपनी १०००–२५०० के.जी. कलिला काँक्रा फल उत्पादन गर्न सकिन्छ ।

काँक्रोको खेतवारीमा गोडमेल गर्न जादा हाम्रो अनुहार, आँखा, कान, जीउमा साना कीरा फट्फट गरिरहेका हुन्छन् ती कीराको नाम के हो ? यिनीहरुको व्यवस्थापन विधी के अपनाउन सकिन्छ?

उफ्रने खपटेको सँख्या काँक्रो वालीमा बढी भयो यस्तो अनुभव हुन्छ । यी खपटेहरुका रोकथाम गर्न वायोजाम १ ग्राम प्रति लिटर वा एन पि भि १ मि.लि प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

हामीले उत्पादन गरेका काँक्रोका फलहरु कहिले काँही तिता–तिता हुन्छन् कारण के होला ?

काँक्रो फलमा कुकुरविटासिन (Cucurbitacin) नामक तत्वका कारण तितोपन आउँदछ ।

कहिले काही जाडो याममा प्लाष्टिक घरभित्र पनि राम्रो उत्पादन लिन सकिन्न, यसको राम्रो उत्पादनको लागि के के उपायहरु अवलम्बन गर्न सकिन्छ ?

जाडो याममा प्लाष्टिक घर भित्र पनि राम्रो उत्पादन लिन सकिन्न किनकी काँक्रो खेतीलाई चाहिने तापक्रम पुग्दैन अतः तापक्रम वृद्धि गर्नुका साथसाथै जाडो सहन सक्ने जातहरु तथा अन्य उपाएहरु अवलम्वन गर्न सकिन्छ ।

प्लाष्टिक घरका काँक्रो उत्पादन गर्दा बिचार नपुर्याखई नहुने कुरा के के हुन ?

प्लाष्टिक घरमा काँक्रो खेती गर्दा विहान अवेरसम्म हुस्सु लाग्ने, प्रकाश अवधि निकै छोटो हुने र सूर्यको प्रकाश कम हुने स्थान छनौट गर्नु हुदैन । उचित रुपमा सूर्यको प्रकाश छिर्न सक्ने ४५ देखि ९० जि एस एम सम्मको प्लाष्टिकको प्रयोग गर्न सकिन्छ । प्लाष्टिक घरको निर्माण गर्दा भेन्टिलेशन तथा छानोको स्लोप उपयुक्त तरिकाले मिलाउनु पर्दछ ।

फल भण्डारण गर्नुपर्दा कति तापक्रम र आर्द्रतामा राख्दा लामो अवधि टिकाउन सकिन्छ ?

काँक्रो फल भण्डारण गर्दा १०–१२ डिग्रि सेन्टिग्रेड तापक्रम र ९५ प्रतिशत सापेक्षिक आर्द्रता उपयुक्त हुन्छ । कलिला काँक्रालाई २ हप्तासम्म राख्न सकिन्छ ।

फल ढुवानी गर्दा कसरी फललाई बचाउन सकिन्छ ?

ग्रेडिङ्ग / छनौट गरिएका फलहरुलाई प्लाष्टिक क्रेट, टोकरी, डोको वोरामा टम्म मिलाएर ढुवानी गर्नु पर्दछ। यसरी टाढा ढुवानी गर्दा प्लाष्टिक क्रेटमा राख्दा बढी सुरक्षित हुन्छ ।

राम्रो भाउ पाउन छनौट/ग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ?

फल टिप्ने वेलामा नै घाउ, चोटपटक र दाग लागेका वाङ्गाटिङ्गा वा पंहेलिएका फलहरु छुट्टै राख्नुपर्दछ।जात अनुसारको रँग, आकार र आकर्षक देखिने फलहरु अलग अलग ग्रेडिङ्ग गर्नुपर्दछ।

फल कुन कुन समयमा टिप्नु पर्दछ ?

काँक्रो फल टिप्न विहान शीत ओभाए पछि वा बेलुका तापक्रम घटेपछि उपयुक्त हुन्छ । ४–५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ ।

काँक्रो वालीमा काँटछाट र तालिम भन्नाले के बुझिन्छ ? यसबाट के फाइदा हुन्छ ?

जाडो याममा एक डाँठ खेती गर्दा सबै शाखा हाँगाहरु शुरुमै हटाउदै जानु पर्दछ । नफलेका बुढा हाँगा, बुढा र रोगी पातहरु आर्कषक नभएका कलिला वा ठूला फलहरु हटाई रहनु पर्दछ । वोटलाई दिएको छाप्रो वा थाँक्रामा पनि मुन्टा लगाई राख्नु पर्दछ जसले गर्दा लहरा फैलन र फल लाग्न सहयोग पुग्दछ ।

काँक्रो वालीमा थाँक्रा अथवा छाप्रो बनाउन किन आवश्यक हुन्छ र कसरी बनाईन्छ ?

काँक्रो लहरे वाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको काँक्रो फल माटोमा परी नसडोस/नबिग्रियोस भन्ने उद्धेश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ । वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ । ब्यावसायिक स्तरमा खेती गर्दा १.५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडी वासको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ ।

कुनै कुनै बेला काँक्रो लगाएको खेतवारीमा ज्यादै नराम्रो गन्धको महसुस हुने कारण के हो ? यसको ब्यवस्थापन कसरी गरिन्छ ?

पतेरो भन्ने कीराको कारणले कहिले काही काँक्रो लगाएको ठाँउमा नराम्रो गन्ध फैलिरहको हुन्छ ।

फेरोमन ट्रयापमा भाले झिगांहरु पर्दछन ? यसको कारण के हो ?

फेरोमन ट्रयापमा क्यू लुर नामक पदार्थ राखिएको हुन्छ जसको गन्ध वा वासना पोथिको जस्तो आंउदछ र भालेहरु आकर्षित भै त्यस ट्रयापमा पर्दछन् र त्यसमा राखेको मालाथायन वा नुभान जस्ता विषादीको असरले तिनीहरु मर्दछन् ।

क्यूलिएर नामक फेरोमन ट्रयापले कुन कुन कीराहरुलाई व्यवस्थापन गर्न सकिन्छ ? यसको लागि कुन कुन रसायनहरु प्रयोग गर्नुपर्दछ ?

क्यूलिएर नामक फेरोमन ट्रयापमा फल कुहाउने झिंगाको भाले कीरालाई ट्रयापमा पारी नष्ट गरिन्छ । यसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखि बनाएको फेरोमन पासो ५–६ फिट उचाईमा झुण्डाएर राखिन्छ ।

कुन कीराको आक्रमणले गर्दा काक्राको फलको आकार प्रकार बिगारी दिने र कुहाउने गर्दछ ?

फल कुहाउने औंसा/झिंगाको आक्रमणले गर्दा फलको आकार कुरुप हुने तथा फल कुहिने हुन्छ।यसको आक्रमणबाट ५० प्रतिशत भन्दा बढी फलहरु नष्ट हुन्छन् ।

लाही कीराको प्रकोपले काँक्रो वालीमा कुन हदसम्म नोक्सानी गर्दछ ?

लाही कीराले काँक्रो वालीमा रस चुसेर नोक्सानी पुर्यामउनुको साथै भाईरस रोग समेत सारी दिन्छ।यसको ब्यवस्थापनमा घरेलु उपचार विधि अन्तर्गत १ भाग गाई भैंसीको गंहुतमा १० भाग पानी मिसाई छर्ने, मारगोसम ३ मि.लि. प्रति लिटर पानीमा र बढी नै आक्रमण भएमा डाईमेथोएट वा मालाथायन १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

पाटे खपटेले काँक्रो वालीमा कसरी वालीमा नोक्सानी पुर्याउँद छ र यसको व्यवस्थापन कसरी गरिन्छ ?

यस कीराको क्षति अरु खपटे कीराको भन्दा भिन्नै खालको हुन्छ । यसले बोटमा भएका फूलहरु खान्छ र फल लाग्न दिदैन । वयस्क खपटे हानीकारक हुन्छ । यसको व्यवस्थापन एन पि भि १ मि.लि. प्रति लिटर पानीमा मिसाई गरिन्छ वा वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

रातो खपटे कीराले वालीको कुन–कुन अवस्थामा आक्रमण गर्दछ ? यसलाई व्यवस्थापन गर्ने सबैभन्दा राम्रो उपाय के हो ?

यस कीराले विरुवाको कलिलो अवस्थामा बढी क्षति पूर्यारउँदछ । वयस्क खपटे चम्किलो रातो हुन्छ र लाभ्र्रा फिका पहेंलो हुन्छ । यसको ब्यवस्थापनमा रोग अवरोधक जात लगाउने, वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्ने वा एन पि भी १ मि.लि प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्नु पर्दछ ।

काँक्रोमा कागे रोगको लक्षण कस्तो हुन्छ ? यसको व्यवस्थापन कसरी गरिन्छ ?

यस रोगका जीवाणुहरु आर्र्र हावापानी, २२–३० डिग्रि सेन्टीग्रेड तापक्रममा बढी सकृय हुन्छन् । यसका नसाबाट शुरु भएका थोप्लाहरु बढदै गई त्रिकोण आकारका हुन्छन् र पछि खैरो रँगमा परिणत हुन्छ।यसको रोकथाम हेतु रोगी विरुवा उखेलेर जलाउने तथा इन्डोफिल एम-४५(२-३ ग्राम) प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।

काँक्रोको पात गुजमुज हुने रोग कुन कीराको माध्यमबाट फैलिन्छ ? यसको रोकथाम गर्ने सबैभन्दा सजिलो उपाय के होला ?

यो रोग चुसाहा कीराको माध्यमबाट फैलिन्छ।यो भाईरसको कारण पातहरु गुजमुजे हुन्छन् । यसको ब्यवस्थापन गर्न रोगी विरुवाहरु उखेलेर हटाउने, चुसाहा कीरा मार्नलाई रोगर १ मि.लि. प्रति लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।

काँक्रोको पातको तल्लो सतहमा पानीले भिजे जस्तो रोग के कारणले गर्दा लाग्दछ ? यसको रोकथाम कसरी गर्न सकिन्छ ?

उच्च तापक्रम र चम्किलो सूर्यको प्रकाश भएको बेलामा यस्तो पातको थोप्ले रोग लाग्दछ । रोगी थोप्लाहरु एक अर्कामा मिल्दै गई पात ओईलाएर सुक्ने र अन्त्यमा विरुवा नै सुक्तछ । यसको ब्यवस्थापन ईन्डोफिल एम–४५ वा ब्लाईटक्स–५० (२–३ ग्राम) प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा स्प्रे गर्नु पर्दछ ।

डाउनी मिल्डयूले विरुवामा कस्तो असर गर्दछ तथा व्यवस्थापन विधि कस्तो हुनुपर्दछ ?

पातको माथिल्लो सतहमा हल्का खैरो रँगका दागहरु र तल्लो सतहमा कपास जस्तो ढुसी उम्रेको देखिन्छ । बढी आक्रमण भएमा पातहरु सुक्ने र बोट समेत सुक्दछन् । यसको रोकथाम गर्न स्वस्थ वीउ रोप्ने, रोगी बोट समयमानै उखेली नष्ट गर्ने, रोडोमिल २–३ ग्राम प्रति लिटर पानीमा मिसाई ८–१० दिनको अन्तरमा छर्नु पर्दछ ।

धुलो ढुसी रोग कसरी पहिचान गर्ने र यसको रोकथाम कसरी गर्न सकिन्छ ?

पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पँहेलिन्छन् र सुक्न थाल्दछन् । आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ । यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाईको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०.२ प्रतिशत अथवा बेभिष्टीन ०.१ प्रतिशत ७–१० दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ ।

मौसम अनुसार सिचाई तथा निकासको व्यवस्था कस्तो हुन जरुरी छ ?

सुख्खा याममा सिचाई र वर्षायाममा बढी भएको पानीको निकास दुई ड्याङ्गको वीचमा बनाएको कुलेसोबाट गरिन्छ । गर्मी मौसममा ३–५ दिनको अन्तर र जाडो मौसममा १०–१५ दिनको अन्तरमा सिचाई गर्नु पर्दछ ।

काँक्रो वालीमा गोडमेल कसरी गरिन्छ ?

काँक्रोको जरा गहिरो नजाने भएकोले १–२ पटक हल्का गोडमेल गरी झारपात हटाई दिनु पर्दछ । लहरा झ्याङ्गिएर आएपछि त्यसको सेपले गर्दा पनि अन्य वालीमा भन्दा कम झारपात आँउदछ ।

व्यवसायिक काँक्रो खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?

एक रोपनी क्षेत्रफलको लागि १०००–१५०० के.जी. गोबरमल, ७ के.जी. नाईट्रोजन ५ के.जी. फस्फोरस ७ के.जी. पोटास २ के.जी. वायोजाम तथा १ के.जी. सुक्ष्म तत्वको आवश्यकता पर्दछ ।

काँक्रोको बीउ सोझै खेतमा रोप्न सकिन्छ तर आजकल किन प्लाष्टिक ब्यागमा पनि उमारिन्छ ?

काँक्रो वीउ सोझै रोप्ने परम्परा देखि चलिआएको खेती प्रविधि हो तर आजकल प्लाष्टिक ब्यागमा विरुवा उमारेर मुख्य खेत वारीमा सार्ने चलन छ किन की यसबाट थोरै जमीनमा नर्सरीको रुपमा विरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा एक डेढ महिना अगाडी नै फसल टिप्न सकिन्छ ।

काँक्रो रोप्ने जमीन कसरी तयार गरिन्छ ?

जमिनलाई २–३ पटक राम्रोसँग जोतेर माटो बुर्बुराउदो बनाउनु पर्छ । सुख्खा र गर्मी याममा १.५ मिटर चौडा र वर्षामा २ मिटर चौडा डयाङ्ग बनाउनु पर्दछ । दुई डयाङ्गको विचमा ३० सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ ।

नेपालमा हाईब्रीड जात प्रवेश भएपछि बेमौसमी काँक्रो खेती शुरु गरिएको छ, यी जातहरुमा के विशेषता पाइन्छ ?

वास्तवमा खुल्ला जमीनमा मौसम अनुकूल नभएको स्थानमा खेती गर्नु जोखिमपूर्ण हुन्छ । हाल केही हाईब्रिड जातहरु नेपालमा भित्रिएका छन् जसले गर्दा प्लाष्टिक घर भित्र तातो सहन गर्ने रोग कीराको प्रतिरोधात्मक क्षमता भएका जातहरु छन् जसले गर्दा बेमौसमी खेती गर्न सकिएको छ ।

राष्ट्रिय बीउ बिजन समितिले भौगोलिक क्षेत्र अनुसार सिफारिस गरेका जातहरु अलग–अलग उल्लेख गरिदिनु हुन्थ्यो कि ?

भौगोलिक क्षेत्र अनुसार तराईको लागि शालिनी १, शाहिनी २, मालिका ९९९ हुन् भने , मध्य पहाडका लागि चाँदनी, सिमरन, सीता ८८८, रमिता, पार्वती ४७८ छन् ।

भक्तपुर स्थानिय जातको विशेषता के हो ?

यो जात जाडो सहन सक्ने, अगौटे तथा पछौटे दुवै मौसममा लगाउन सकिने, हल्का सेतो र हरियो रँग मिसिएको आकर्षक र ठूलो फल लाग्ने जात हो ।

कर्भी भन्ने जातको विशेषता के हो ?

कर्भी भन्ने जातको फल अन्य जातका फल भन्दा सानो हुन्छ ।

बढी गर्मी र बढी जाडो सहन सक्ने खालका जातहरु कुन–कुन हुन ?

बढी गर्मी सहने जातहरु जापानिज लङ्ग, एफ–१ हुन् भने बढी जाडो सहने जातहरु भक्तपुरे स्थानीय, कुशले हुन् ।

नेपालमा पाइने स्थानिय जातहरुमा कुन जात सबैभन्दा प्रचलित छ र किन ?

नेपालमा पाईने भक्तपुरे स्थानीय जात सबैभन्दा प्रचलित जात हो । यो जात जाडो सहने अगौटे तथा पछौटे मौसममा खेती गर्न सकिने, हल्का सेतो र हरियो रँग मिसिएको आकर्षक फल उत्पादन हुने जात हो ।

यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?

यसको लागि बलौटे दोमट तथा बलौटे पाँगो माटो राम्रो हुन्छ । माटोको पि.एच. मान ५.५ देखि ६.५ राम्रो मानिन्छ । यसको लागि पानी बढी भए निकासी गर्न सकिने र चिस्यान कम भए सिचाई गर्न सकिने पारिलो जमिन उपयुक्त हुन्छ ।

यो वाली कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?

यो न्यानो तथा गर्मि मौसमको वाली हो । दिनको तापक्रम २० देखि ३० डि.से. र रातको तापक्रम १५ डि.से. सम्म हुँदा बोटको वृद्धि एवम फल उत्पादन राम्रो हुन्छ । यसले तुषारो सहन सक्तैन ।

काँक्रोमा कुन कुन खनिज तत्वहरु बढी मात्रामा प्राप्त हुन्छन् ?

यसमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवद्र्धक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् । काँक्रो खानाले ग्याष्ट्रिक, अम्लिएता, कब्जिएत र मोटोपनलाई घटांउदछ् ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • आन्तरिक उडान खुला गर्ने सरकारको तयारी
  • सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली
  • आजबाट नेपालको नयाँ नक्सा, मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा