आपत्‌मा सघाउँदै आविष्कार केन्द्र..,एक शेयर महावीर को लागि,


स्वास्थ्य सामग्री किन्नसमेत नपाइएका बेला राष्ट्रिय आविष्कार केन्द्रले एरोसोल बक्स, कोरोना बुथ र इमर्जेन्सी भेन्टिलेटर बनाएर अस्पतालहरूलाई नि:शुल्क वितरण गरिरहेको छ ।

सरकारी अस्पतालमा बिग्रिएर थन्किएको भेन्टिलेटरसमेत बनाएको छ । संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको छ ।

काठमाडौँ — मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार हुन बाँकी रहेको भन्दै केन्द्रका कर्मचारीले फर्काउन खोजे तर ती कर्मचारी फर्केनन् । कति बेला तयार हुन्छ, त्यतिन्जेल बस्छु र लिएरै जान्छु भने । अस्पतालका कर्मचारीको अड्डीका अगाडि केन्द्रका कर्मचारीको केही लागेन, ४ बजे आउन भने । अनि ती कर्मचारी फर्किए ।

केन्द्रमा पीपीई माग्न आउने एम्बुलेन्स चालक पनि उत्तिकै थिए। केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, एम्बुलेन्स नम्बर र संस्थाको नाम टिपाएकै आधारमा पीपीई उपलब्ध गराउने गरेको छ। ‘बिनाझन्झट पैसा नतिरी पीपीई पायौं,’ आनन्द वन अस्पतालका एम्बुलेन्स चालकले भने, ‘किन्नसमेत नपाइने यस्तो सामान पायौं, अब अलि सुरक्षित हुने भइयो।’
केन्द्रका अनुसार मुलुकभरका ३ सयभन्दा बढी एम्बुलेन्स चालकलाई पीपीई वितरण गरिसकिएको छ। केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराउँदै आएको छ। केन्द्रको पछिल्लो उत्पादन कोरोना बुथ हो। यसबाहेक पीपीई, एरोसोले बक्ससमेत बनाएर अस्पताललाई नि:शुल्क वितरण गरिरहेको छ। वर्षौं बिग्रिएर थन्किएको सरकारी अस्पतालको भेन्टिलेटरसमेत बनाइसकेको केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले बताए।

केन्द्रका प्राविधिकहरू कोरोना संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट बनाउने प्रयासलाई पनि अन्तिम रूप दिइरहेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यकता के हो, त्यही बनाइरहेका छौं,’ मेकानिकल इन्जिनियर रितेश देवले भने, ‘संक्रमित बिरामीबाट उहाँहरूलाई सुरक्षित बनाउने हाम्रो प्रयास हो।’

केन्द्रले कोरोना (कोभिड–१९) भए/नभएको पत्ता लगाउन बिरामीको स्वाब परीक्षण गर्ने चिकित्सकलाई सुरक्षित राख्न केन्द्रले बुथ निर्माण गरेको छ। जुन बुथ मागअनुसार बनाउन हम्मेहम्मे परेको केन्द्रका मेकानिकल इन्जिनियर देवले बताए। केन्द्रका प्राविधिकले दुई वटा बुथ तयार गरिरहेका छन्। यस्ता बुथ १६ वटा बनाएर वितरण गरिसकेको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख महावीर पुनका अनुसार सैनिक, एपीएफ, वीर, टिचिङ, भक्तपुर, काठमाडौं मोडल र टेकु अस्पतालमा बुथ पठाइएको छ। यसबाहेक मेची अस्पतालका साथै दमक, इटहरी, विराटनगर, धरान, वीरगन्ज, बुटवल, सुर्खेत, धनगढी, पोखरा र बागलुङका अस्पताललाई पनि बुथ दिइसकेको उनले बताए।

कोभिड क्राइसिसमा आवश्यक उपकरण बनाउने प्रयास जारी रहेको जुनियर साइन्टिस्ट एवं मेकानिकल इन्जिनियर गौरवकुमार दासले बताए। उनको टिमले बनाएको सब्जी कोठी पनि यही बेला उपयोगी भएको छ। केन्द्रमा उनीहरूले तरकारी र फलफूल १० देखि ४० दिनसम्म कुहिनबाट जोगाउन सकिने उपकरण बनाएका छन्। केन्द्रमा बिहीबार बायोमेडिकल इन्जिनियर सिंहको टोलीले एरोसोल बक्स बनाइरहेको थियो। जुन बक्समा कोरोनाका बिरामीको टाउको छिराएर चिकित्सकले जाँच्न सक्छन्। बिरामीले हाच्छिउँ गर्दा चिकित्सकसम्म आइपुग्दैन। त्यस्तै बिरामीले सास फेर्दा पनि चिकित्सकसम्म नपुग्ने दाबी गरिएको छ। केन्द्रमा यस्तो बाकस ५ वटा तयार भइसकेको छ भने एउटा बन्दै छ। ‘अहिलेसम्म पीपीई, कोरोना बुथ र एरोसोल बक्सको माग बढी छ,’ पुनले भने, ‘कति दिन सकिन्छ, हेरौं।’

मुलुकमा कोरोना संक्रमित देखिएसँगै पीपीईको माग भएको थियो। सरकारले समेत उपलब्ध गराउन नसकेका बेला केन्द्रले कपडा किनेर पीपीई बनाएको हो। अस्पतालमा पीपीईको माग पूरा गर्न पुनले वैशाख ११ मा फेसबुकमार्फत टेलरको खोजी गरेका थिए। ‘पीपीईबाट सुरु भएको मेरो यात्रा कोरोना बुथ र अस्पतालको भेन्टिलेटर बनाउनेसम्म पुगेको छ,’ पुनले भने, ‘अरू पनि थप केही गर्न सकिन्छ कि योजना बनाइरहेका छौं।’ केन्द्रका अनुसार मुलुकभरका दुई सय अस्पताललाई नि:शुल्क पीपीई उपलब्ध गराइसकिएको छ।

केन्द्रले कोरोनाको उपचारमा आवश्यक पर्ने सरकारी अस्पतालका भेन्टिलेटरसमेत मर्मत गरिरहेको छ। केन्द्रका अनुसार ट्रमा सेन्टरका ७, वीरका ५, गंगालालका ३, टिचिङका ४ वटा तथा कान्ति, भक्तपुर र सैनिक अस्पतालका बिग्रिएका भेन्टिलेटर भने मर्मत गरिसकेको छ। ‘बिग्रिएर स्टोरमा थन्किएका ७ वटा भेन्टिलेटर अस्पतालले खर्च नगरी केन्द्रले बनाइदियो,’ ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले भने, ‘केन्द्रले यो बेला पीपीई उपलब्ध गराएको छ। भेन्टिलेटर निर्माण र बुथ उपलब्ध गराएर चिकित्सक र स्वास्थ्यकर्मीलाई गुन लगाएको छ।’ पैसा लिन आग्रह गर्दा पनि नलिएको उनले बताए।

केन्द्रमा बिहीबार क्षेत्रपाटीको एक संस्थाले पनि बिग्रिएको भेन्टिलेटर मर्मतका लागि ल्याएका छन्। ‘कोरोनाका बिरामीलाई भेन्टिलेटर आवश्यक पर्ने भएकाले बिग्रिएकालाई कति बनाउन सकिन्छ भनेर सुरु गर्‍यौं। सरकारी अस्पतालका प्राय: सबै बनाउन सफल भयौं,’ बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले भने।

पीपीई, कोरोना बुथ र एरोसोल बक्स वितरण गर्दा सरकारी, सामुदायिक र प्राइभेट, ठूलो र सानो, धनी र गरिब सबै अस्पताललाई भेदभाव नगरी वितरण गरेको दाबी केन्द्रको छ। पीपीई वितरण गर्दा ठूला अस्पताललाई बढीमा २५ वटा, अन्य अस्पताललाई १० देखि १५ वटा, गाउँको प्राथमिक केन्द्रलाई ६ वटा र हेल्थपोस्टलाई ३ वटाको दरले दिएको पुनले बताए। यस्ता सामान लिनका लागि भनसुन र चिठी नल्याउन पुनले फेसबुकमा लेखेका थिए। फोन गरेर नाम र फोन नम्बर टिपाए मात्रै पुग्ने व्यवस्था मिलाएका थिए। केन्द्रका अनुसार तीन हजार पीपीई बनाएको मध्ये २ हजार ५ सय वितरण गरिसकिएको छ।

नि:शुल्क वितरण

‘सबै सामान पैसा नलिईकन वितरण गरेका छौं तर कोही व्यक्ति, अस्पताल र संस्थाले स्वेच्छाले पैसा दिन चाहेमा केन्द्रको खातामा जम्मा गर्न भनेका छांै,’ पुनले भने, ‘अहिलेसम्म जे जति काम गर्‍यौं सबै नि:शुल्क गरिरहेका छौं।’ ७० देखि ८० हजार पर्ने कोरोना बुथसमेत कुनै अस्पतालबाट पैसा नलिई सित्तैमा वितरण गरेको केन्द्रले जनाएको छ। एरोसोल बक्स बनाउन आठ हजार खर्च हुने उनले बताए।

केन्द्रले इमर्जेन्सी भेन्टिलेटरसमेत तयार गरेको छ। कोरोनाले ग्रस्त बिरामीलाई सास फेर्न सहज बनाउन यो भेन्टिलेटरको नमुुना तयार गरिएको हो। ‘आवश्यक परेका बेला यस्तै इमर्जेन्सी भेन्टिलेटरहरू तयार गर्न सकिन्छ,’ पुनले भने, ‘अमेरिकामा अनुसन्धानकर्ताहरूले विकास गरेर खुला रूपमा उपलब्ध गराएको नमुनाका आधारमा बनाइएको हो।’ केन्द्रले कोरोनाका बिरामीलाई खाना र औषधि पठाउने रोबोटसमेत निर्माण गरिरहेको छ। संक्रमितको कोठामा मान्छेबिनै सामान पठाउन बनाइरहेको रोबोटलाई अन्तिम रूप दिइरहेको मेकानिकल इन्जिनियर रितेश देवले बताए।

खर्च व्यवस्थापन

संक्रमित बिरामीबाट चिकित्सकलाई सुरक्षित राख्ने मेडिकल सामग्री निर्माण र मर्मत गर्न ४५ लाख रुपैयाँ खर्च भइसकेको केन्द्रले जनाएको छ। ‘सबै सहयोगबाट चलाइरहेका छौं,’ केन्द्रका प्रमुख महावीर पुनले भने, ‘२० लाख सहयोग उठेको छ। १८ लाख सापट लिएको छु। अझ धेरै काम उधारोमा गरेको छु।’ उपत्यकाबाहिरको बुथ उधारोमा बनाएको उनले बताए।

कति जनशक्ति छन्?

चिकित्सकको सुरक्षाको सामग्री बनाउन केन्द्रका १५ जना प्राविधिक खटिने गरेका छन्। १० जना भने १६ घण्टा खटिने गरेका छन्। केन्द्रमा मेकानिकल, इलेक्ट्रोनिकल, बायोमेडिकल इन्जिनियर छन्। उनीहरूका लागि केन्द्रमा सुत्ने र खाने व्यवस्था गरिएको छ। ‘हामी राति १२ बजेसम्म काम गर्छौं,’ इन्जिनियर देवले भने, ‘बिहान ८ बजेदेखि फेरि काममा घोटिन्छौं।’

अस्पताल र स्वास्थ्यकर्मीको मागका आधारमा जनशक्ति र सामग्री बनाउन आवश्यक पर्ने कच्चा पदार्थको खोजीसमेत पुनले फेसबुकमार्फत गर्ने गरेका छन्। पीपीई बनाउने गार्मेन्टदेखि भेन्टिलेटर मर्मत गर्ने बायोमेडिकल र इलेक्ट्रोनिक इन्जिनियरसमेत उनले फेसबुकबाटै भेट्टाएका हुन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • मासिक १० युनिटसम्म खपत गर्ने साना ग्राहकलाई विद्युत् नि:शुल्क, १५० युनिटसम्म २५ प्रतिशत छूट
  • धेरै समय फोनमा बोल्दा यति धेरै खतरा हेर्नुहोस
  • लकडाउनभरि इन्टरनेटको शुल्क तिर्न नसके इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन
  • यी हुन् तपाईले कसैलाई फोन गर्दा कोरोना बाट बच्न सिकाउने महिला